नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बियो

नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बियो

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ ।

कोरोना भाईरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराए ।

चन्दले आईसीसीले नेपालको मान्यता सन् २०२३ को मार्चसम्म लम्बाएको बताएका हुन् ।

‘नेपालको एकदिवसीय अन्तराष्ट्रिय मानयतालाई आईसीसीले एक वर्ष थप गरेको छ,’ चन्दले भर्चुअल सभामा भने, ‘कोरोना महामारीको कारण क्रिकेट ठप्प भएको कारण आईसीसीले सन् २०२३ को मार्चसम्म लम्बाएको छ ।’

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार व्यहोरेको छ ।

विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग-२ समेत कोरोनाको कारण स्थगित अवस्थामा रहेको छ ।

लिगमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार व्यहोरेको थियो ।

लिग अन्तर्गत नै सन् २०२० को सुरुवातमा नेपालले पहिलो पटक घरेलु मैदानमा अमेरिका र ओमानको आतित्यथा गर्दै त्रिवि मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो ।

नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको थियो ।

एकदिवसीय अन्तराष्ट्रिय मान्यता ४ वर्षको लागि हुने गर्छ । सन् २०१८ मा पाएको नेपालको मान्यता सन् २०२२ मा सकिंदै थियो ।

तर, कोरोनाको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मको लागि आईसीसीले मान्यता लम्ब्याएको हो ।

सम्बन्धित खवर