सिरहामा जनप्रतिनिधिबाटै कुटिए दलित परिवार

सिरहामा जनप्रतिनिधिबाटै कुटिए दलित परिवार

लहान, मधेसको महोतरीमा मुसहर समुदायको झूठो आरोपमा जनप्रतिनिधिबाट कुटपिटको घटना नसेलाउदै सिरहाको धनगढीमाई नपा ७ कसहाका दलित परीवारमाथि कुटपीट भएको छ । गत सोमबार वडाअध्यक्ष गनपैत यादव र उनका भाईका छोराहरु मनोज यादव, भरत यादव, दिलिप यादव र दिपन यादवले गाउँकै ४० वर्षीय सागरदेवी साफी, छोरा उमेश, रञ्जित, उनकै जेठाजु ५० वर्षीय मागैन सफी र भतिजो शुदिप साफीलाई कुटपीट गरेको हो ।

उनिहरुमध्ये सागरदेवीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउको फूट्दा ९ वटा टाँका लगाएको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सवैको स्थानीय निजी क्लिनिकमा उपचार भईरहेको छ ।

सुदिप र रञ्जित साफीले निरपैत यादवको ट्याक्टर चलाउँदै आएका थिए । गागन खोलामा ट्क्याक्टरमा बालुवा भर्ने क्रममा हाइड्रोलिक पाइप खुम्चेको विषयमा निरपैतको छोरा भरतले सुदिप र रञ्जितलाई कुटपीट गरेका थिए । उनीहरुलाई कुटेर घर फर्केका भरतले उनकै घरमा रहेको सुदिपको स ८ प २०३७ नम्वरको मोटरसाइकल तोडफोड गरेका छन् । उनले खुकुरीले हानेर मोटरसाइकलको ट्याङ्की, भाइजर फूटाएको प्रहरीले जनाएको छ ।

अस्थाई प्रहरी विट धनगढीमाई नपा ८ कसहाका प्रमुख कमल कुमार भट्टराईले विहानको विषयमा मोटरसाइकल बनाईदिने भनी सहमति भएको बताएपनि बेलुका फेरी झगडा भएको बताए । बेलुकाको झगडाको विषयमा अनुसन्धान भईरहेको उनले बताए ।

सोही दिन बेलुका फेरी भरत, मनोज सहितका समूहले लक्ष्मीपूजाको लागि पूजासामाग्री किनेर फर्कीरहेका बेला १७ वर्षिय उमेश साफीलाई कुटपीट गरेको सुरेशले बताए । उनलाई सडकमा कुटेको थाहा पाएपछि निरपैतको घरमा पुगेका आफन्तहरु माथि पनि कुटपीट गरेको मागैन साफीले बताए । उनीहरुले तिम्रा छोराहरुले किन यसरी कुटपीट गर्छन् भन्न नपाउँदै हामीमाथी जथाभावी प्रहार भएको सागरदेवी साफीले सुनाइन् ।

साफीले भनिन्, ‘हामी थोरैको सङ्यामा छौं, दलित गरिव भएकै कारण हामीमाथि स–साना विषयमा पनि कुटपीट गर्ने गर्छ, त्यसैको पछिल्लो घटना हो यो ।’

यता वडा अध्यक्ष गणपैत यादवले घटनाबारै विस्तारै छानविन गरेर दोषीमाथि आवश्यक सामाजिक कार्वाही हुने बताए । उनलेभने, ‘पहिले घाइतेहरुको उपचार होस्, त्यसपछि गाउँमै बसेर हामी मिलाउँछौं ।’

कुटपीटमा संलग्न युवाहरु अझै फरार रहेका छन् । प्रहरीले भने कुटपीटमा संलग्नको खोजी भईरहेको जनाएको छ । घटनाका बेला घाइतेहरुको उद्धारमा लागियो, पछि उनीहरुलाई खोज्दा भागीसकेका रहेछन, खोज्ने कार्य जारी रहेको प्रहरीको भनाई छ ।

मधेशमा दलित समुदायलाई निरन्तर जनप्रतिनिधिबाट कुटिनु दुःखत भएको सिरहाका दलित अधिकारकर्मी संजय महराले बताए । दोषिलाई कानुनको दायरामा ल्याएर कानुनी कार्वाहिका लागि सरोकारवालालाई महराले ध्यानाकर्षण समेत गराएका छन् ।

सम्बन्धित खवर