आज कुकुर तिहार, आजै लक्ष्मी पुजा पनि गरिने

आज कुकुर तिहार, आजै लक्ष्मी पुजा पनि गरिने

वैदिक सनातनी नेपालीहरूको महान चाड यमपञ्चकको दोस्रो दिन, आज नरके चतुर्दशी अर्थात् कुकुर तिहार एवम् आज मध्यान्न १ बजेर ४९ मिनेट उपरान्त औँशी तिथि लागे पश्चात आज साँझमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदैछ।

आज सबेरै घाम झुल्कनु भन्दा आगाडी नै उठी शरीरको कुनै पनि भाग खाली नराखी तेल लगाएमा शरिरमा भएका सम्पूर्ण रोग नष्ट हुने र नलाग्ने धार्मिक मान्यता रहेको छ ।आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाइँदै छ भने साँझमा महालक्ष्मीको पुजा आराधना गरि एकै दिन परेका ूनरके चतुर्दशी र लक्ष्मी पुजाू धुमधामका साथ मनाइँदै छ।

नरके चतुर्दशी (कुकुर तिहार)

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरके चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ।

कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । कुकुर भगवान भैरवको बहान पनि हो।

आजको दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने चलन रहेको छ।

लक्ष्मी पुजा

आज बेलुकी ऐश्वर्य, धनधान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई भब्य स्वागत गर्ने परम्परा रहेको छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने यस कार्त्तिक कृष्ण औँसीको रातको नाम सुखरात्री हो ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर, चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेनेगर्छन् । भगवान् विष्णुको आज्ञा अनुसार यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गइ गाउन लगाएको परम्पराको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन गएको हो।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कार्त्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। लोक परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत रहेको छ । तर शास्त्रीय रूपमा औँसीपछि, कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित खवर