प्रधानमन्त्री ओली संखुवासभाको यात्रामा, के के छन कार्यक्रम ?

प्रधानमन्त्री ओली संखुवासभाको यात्रामा, के के छन कार्यक्रम ?

संखुसासभा : प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली आज १० बजे संखुवासभा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको यो भ्रमणको विशेष कार्यक्रम नभए पनि सडक र जलविद्युत आयोजनाको निरीक्षण गर्ने र स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने बताइएको छ । जस अनुसार तीनवटा कार्यक्रम तय भएका छन । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ ।

ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।

किथामाङ्काको कार्यक्रमपछि भोटखोला ३ मा पर्ने च्याम्ताङ भन्ने स्थानमा जानेछन् । च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्याम्ताङमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गर्दैछ । १४ किलोमिटर ट्रयाक खुलेपछि कोशी राजमार्गले चीनसँगको सिमाना छुनेछ । त्रिदेशीय महत्वको यो सडक निर्माणको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

च्याम्ताङको कार्यक्रम पछि प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थलको निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिन्दामा आयोजनाको ड्याम निर्माण कार्य चलिरहेको छ ।
ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माण प्रगतिबारे ब्रिफिङ सुन्नेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका रहेको छ ।

एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए । अरुण तेस्रोको हालसम्म करिब ४० प्रतिशत काम सकिएको बताइन्छ ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । त्यस क्रममा प्रदेश र प्रतिनिधिसभा सदस्यहरुसंग पनि छलफल गर्नेछन । फ्याक्सिलाबाट प्रधानमन्त्री ओली आजै अपरान्ह काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

सम्बन्धित खवर