उर्लाबारी नगरपालिकाद्वारा विपन्न नागरिकको उपचारमा सहयोग

उर्लाबारी नगरपालिकाद्वारा विपन्न नागरिकको उपचारमा सहयोग

उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिकाले अतिविपन्न बर्गका नागरिकहरुलाई २० हजार रुपैयाँको औषधी उपचार आफैं बेहोर्ने भएको छ ।

नगरपालिकाको सोमबारको बैठकले सबै नागरिकहरुको औषधी उपचारको जिम्मा स्थानीय सरकारले लिने योजना अनुसार पहिलो चरणमा आयस्रोत नभएका अतिविपन्नलाई यस्तो सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

विपन्न वर्गका नागरिकहरुलाई प्राथमिकता राखेर जुनसुकै रोग लागेर बिरामी भएको अवस्थामा सो रकम प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख खड्ग फागोले बताउनुभयो । नागरिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यकता अनुसारका थप अन्य चरणमा आय नभएका र निम्न आयस्रोत भएकाहरुको पनि स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड–१९ बाट संक्रमित भएका तथा दैनिक रोजगार गरेर जिवीकोपार्जन गर्दै आएका नगरबासीहरुकोे लागि एक महिनासम्मको लागि खाद्यान्न तथा अक्सिजन घरैमा पु¥याउने निर्णय गरेको छ । संक्रमितहरुको उपचारको लागि पनि नगरपालिकाको समन्वयमा आईसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय भएको नगरप्रमुख फागोले बताउनुभयो ।

संघीय सरकारले पिसीआर परिक्षण बन्द गरेको भएपनि नगरपालिकाले हालसम्म नागरिकको निःशुल्क परिक्षण गर्दै आएको जनाएको छ । उर्लाबारीमा कोभिड–१९ को संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ भने २५० बढी संक्रमित भएका छन् ।

सम्बन्धित खवर