पछिल्लो २४ घण्टामा विराटनगरमा थप सात जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा थप सात जना संक्रमितको मृत्यु

विराटनगर : विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत थप सात जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेजमा ३, विराट नर्सिङ होममा २, विराट मेडिक कलेजमा १ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । कात्तिक १८ गते कोरोना पुष्टि भएका उनमा श्वासप्रश्वासको समस्या थियो ।

विराटनगरकै नोबेल मेडिकल कलेजमा इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका उनलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएपछि कोरोना पुष्टि भएको थियो ।

नोबेलमै सुनसरीको इनरुवाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको दाहालले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषमा सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेकोमा मृत्यु भएको हो ।

त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको आइतबार राति १० बजे मृत्यु भएको हो ।

यसैगरि विराटनगरको विराट नर्सिङ होममा सुनसरीको इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

उता झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा बिहान ७ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सोमबार बिहान मात्र उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भर्ना गरिएकी उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

सम्बन्धित खवर