दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स इतिहासमै पहिलो पटक इन्डीएन प्रिमियर लिगको फाइनल पुग्न सफल भएको छ।

पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि दिल्लीले दोश्रो क्वालीफायरमा हैदरावादको यात्रा समाप्त गर्दै फाइनलमा मुम्बईसंगको भेट पक्का गरेको हो। फाइनल खेल नोभेम्बर १० तारिख मंगलबार दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

हैदरावादको लागि केन विलियमसनले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ४५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अब्दुल समदले ३३, मनिष पाण्डेले २१, प्रियम गर्गले १७, जेसन होल्डर र राशिद खानले समान ११ रन बनाए। कप्तान डेभिड वार्नरले २ रन मात्र बनाउन सके।

विलियमसनले सर्वाधिक ६७ रन बनाए


हैदरावादको सुरुवात राम्रो हुन सकेन। दोश्रो ओभरमा कप्तान डेभिड वार्नरलाई कागीसो रबाडाले योर्करमा बोल्ड गरे। त्यसपछि पाँचौ ओभरमा प्रियम गर्ग र मनिष पाण्डेलाई मार्कस स्टोइनिसले पेभेलियन फर्काउदा हैदरावाद नाजुक अवस्थामा पुग्यो।

४४/३ को अवस्थाबाट विलियमसन र होल्डरले चौथो विकेटको लागि ४६ रनको साझेदारी गरे। १२ औं ओभरमा होल्डरलाई अक्षर पटेलले क्याच आउट गराए।

त्यसपछि पनि विलियमसनले इनिंग जारि राखे जसलाई अब्दुल समदले साथ दिए। आवस्यक रन गति बढ्दै गर्दा समदले नोर्कियाले गरेको १५ औं ओभरमा १ छक्का र २ चौका लगातार प्रहार गरे। दुवैले मात्र ३१ बलमा ५७ रनको साझेदारी गर्दै हैदरावादको जितको आशा जगाइराखे। १७ औं ओभरमा विलियमसनलाई स्टोइनिसले रबाडाबाट क्याच आउट गराएर साझेदारी तोडे।

१९ औं ओभरमा समद र राशिद खानलाई लगातार बलमा तथा श्रिभत्स गोस्वामीलाई आउट गर्दै रबाडाले दिल्लीलाई हावी गराए। २ ओभरमा ३० रन आवस्यक हुँदा ओभरमा रबाडाले मात्र ८ रन खर्चेर ३ विकेट लिए। अन्तिम ओभरमा जित्न हैदरावादलाई जित्न २३ रन आवस्यक हुँदा एनरिक नोर्कियाले मात्र ४ रन खर्चिए।

रबाडाको कीर्तिमान

दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। यस्तै मार्कस स्टोइनिसले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २६ रन खर्चिए। अक्षर पटेल ( ४-०-३३-१ ) ले १ विकेट लिंदा एनरिक नोर्किया ( ४-०-३६-० ) रभीचन्द्रन आश्विन ( २-०-२२-० ) , प्रभिन दुबे ( २-०-१४-० ) विकेटविहिन रहे।

कुल २९ विकेट लिंदै रबाडा दिल्लीको इतिहासमै एकै सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडी समेत बनेका छन्। २६ औं विकेट लिंदै उनले यस अघि आफै र मोर्ने मोर्केलले लिएको २५ विकेटको कीर्तिमान तोडेका हुन्। रबाडाले गत सिजन तथा मोर्केलले २०१२ मा उक्त विकेट लिएका थिए।

यस्तै रबाडा आईपीएलको एकै सिजन दोश्रो सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका छन्। उनि भन्दा बढी २०१३ मा ड्वेन ब्राभोले कुल ३२ विकेट लिएका थिए। यस क्रममा रबाडाले समान २८ विकेट लिएका लासिथ मालिंगा र जेम्स फल्कनरलाई पछि पारे।

दिल्लीको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो।

दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। जारि सिजन धवनको यो चौथो अर्धशतक हो जसले २ वटा शतक समेत प्रहार गरेका थिए। धवनले जारि सिजन ६०० रन समेत पुरा गरेका छन् जो आईपीएल इतिहासमै एकै सिजन ६०० रन बनाउने रिशभ पन्त पछि दोश्रो ब्याट्सम्यान बनेका छन्। पन्तले २०१८ मा ६८४ रन बनाएका थिए। जारि सिजन केएल राहुल ( ६७० ) ले मात्र धवन ( ६०३ ) भन्दा बढी रन बनाउन सकेका छन्।

यस्तै शिमरन हेटमायरले अविजित ४२ रन बनाउने क्रममा २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मार्कस स्टोइनिसले ३८ ( २७ बलमा ५ चौका र १ छक्का ) , श्रेयस ऐयरले २१ ( २० बलमा १ चौका ) बनाए।

धवनले सर्वाधिक ७८ रन बनाए


पृथ्वी शलाई अन्तिम-११ मा समाबेश नगर्दै दिल्लीले ओपनिंगमा स्टोइनिसलाई धवनको जोडी बनाएको थियो। धवन र स्टोइनिसले आक्रामक सुरुवात दिलाउने क्रममा ८६ रनको ओपनिंग साझेदारी गरे। स्टोइनिसले होल्डरले गरेको चौथो ओभरमा ३ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए। नवौं ओभरमा स्टोइनिसलाई राशिद खानले बोल्ड गरे।

दोश्रो विकेटको लागि धवन र कप्तान ऐयरले ४० रन जोडे। १४ औं ओभरमा ऐयरलाई जेसन होल्डरले क्याच आउट गराए। त्यसपछि धवन र हेटमायरले तेश्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। १९ औं ओभरमा धवनलाई सन्दिप शर्माले एलबिडब्लु गर्दै साझेदारी तोडे।

अन्तिम ५ ओभरमा दिल्लीले १ विकेट गुमाएर ५१ रन बनाउन सक्यो। टि नटराजनले २० औं ओभरमा मात्र ७ रन तथा १९ औं ओभरमा सन्दिप शर्माले ६ रन मात्र खर्चदै दिल्लीको योगफल २ सय पार गर्न रोके।

हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-३०-१ ) , जेसन होल्डर ( ४-०-५०-१ ) र राशिद खानले ( ४-०-२६-१ ) समान १ विकेट लिए। टि नटराजन ( ४-०-३२-० ), शाहबाज नदीम ( ४-०-४८-० ) विकेटविहिन रहे।

सम्बन्धित खवर