सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।
हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए ।
साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।
वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहदै १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबादले सानदार जित निकालेको हो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । क्विन्टन डी कक २५ रनमा आउट भए ।
मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए ।
जितसँगै हैदराबाद तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।
हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ ।
हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।
बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।
कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ । नेट रन रेटमा बैंगलोर भन्दा पछि परेपछि कोलकाता बाहिरिएको हो ।
अन्तिम खेलमा हैदराबादसँग पराजित भएपनि मुम्बई शीर्ष स्थानमा रह्यो ।
मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।
पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ ।
क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।
पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ ।
दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।
दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।