हैदरावादलाई जित्नै पर्ने दवाव

हैदरावादलाई जित्नै पर्ने दवाव

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी – ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता समेत रहेको मुम्बई र हैदराबादबीचको खेल सारजाहमा हुनेछ । मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

सारजाह क्रिकेट मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, मुम्बईका लागि भन्दा यस खेल हैदराबादका लागि महत्वपूर्ण रहेको छ ।

प्ले अफ पुग्ने लक्ष्य लिएको हैदराबादलाई मुम्बईविरुद्ध जितको विकल्प छैन । मुम्बईलाई हराउँन सके हैदराबाद प्ले अफमा पुग्नेछ । पराजित भएमा हैदराबादको आईपीएल यात्रा सकिने छ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मुम्बईलाई हराउँन सकेमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि बनाएर प्ले अफ पुग्नेछ ।

कोलकाता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलकाताको प्ले अफ यात्रा समेत यसै खेलले निर्धारण गर्नेछ ।

मुम्बईले जित निकालेको खण्डमा कोलकाता प्ले अफ पुग्नेछ ।

यता, मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगीसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

त्यसैले मुम्बईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, मुम्बई हैदराबादलाई हराएर लिग चरणको सुखद अन्त्य गर्न चाहन्छ।

यस वर्ष दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले समेत प्ले अफ यात्रा तय गरिसकेको छ ।

अब एक टिम मात्र प्ले अफमा पुग्न बाँकी रहेको छ । जसमा हैदराबाद र कोलकाताको सम्भावना रहेको छ ।

हैदराबाद र कोलकाता मध्येको प्ले अफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंगलोरसँग खेल्नेछ ।

यस अघिको भेटमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बई उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

तर, हैदराबाद भने मुम्बईसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

सम्बन्धित खवर