अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोड हुलाकमार्फत् मतदान

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोड हुलाकमार्फत् मतदान

वासिङ्टन : विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो ।

नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो । अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान अनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ ।

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

चुनावको एक दिन बाँकी छँदा ६।९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति तथा रिपब्लीकनका तर्फबाट उम्मेदबार बन्नुभएका डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका जो वाइडेनका बीचमा कडा प्रतिस्पर्धा बताइएको छ ।

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको छ ।

वाइडेनले निकै सर रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाउनुभएको छ भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो ।

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।

यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

सम्बन्धित खवर