आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।
घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो चम्किए ।
खेलको ५६ औं मिनेटमा पाउल डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।
कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।
करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।
स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले टोरिनोलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।