नेपाल टेलिकमको फोर–जी सेवा बिस्तार हुने

नेपाल टेलिकमको फोर–जी सेवा बिस्तार हुने

भूमिप्रसाद पाठक, पथरी

मोरङको पथरी शनिश्चरे नगरभित्र नेपाल टेलिकमले आफ्नो फोर–जी सेवा बिस्तार गर्ने भएको छ । सामाजिक सञ्जालबाट जनगुनासो पाएको टेलिकमले आज पथरी शनिश्चरे नपाको वडा नं. १० अवस्थित जिरिखिम्ती खण्डमा स्थलगत अध्ययन अवलोकन गरेको छ ।

वडा नं. ८ का नेकपाका नेता प्रकाशबहादुर कार्कीको पहलमा दुर्गा आधारभूत विद्यालय, शुक्रबारे, सोमबारे, पशुपतिचौक, दोहलुलगायत क्षेत्रको समेत सेवा प्रवाहको अवस्थाको बारेमा अध्ययन गरेको छ । टेलिकमको सेवाका बारेमा सामाजिक सञ्जालमा गुनासो आएपछि टेलिकमका क्षेत्रीय निर्देशक अमीत भगतको निर्देशनमा टेलिकमका इञ्जीनियर शिशिर फूयाँल र सिनियर टेक्निसियन राजीवरञ्जन राउतको टीमले स्थलगत निरीक्षण गरेको हो ।

वडा नं. १० को कार्यबाहक अध्यक्ष मैनादेवी आचार्य फूयाँलले नेपाल टेलिकमको द्रुतत्तर सेवा प्रवाहका लागि भएको प्रयासप्रति खुशी व्यक्त गर्नुभयो । वडा नं. १० बाट वडा नं. ८ मा पुगेको टेक्निसियन टोलीले चौतर्फी अध्ययन गरेसँगै केही प्रक्रिया पूरा गरेर यस क्षेत्रमा फोर–जी सेवा प्रवाह बिस्तार हुने टोलीमा संलग्न इञ्जीनियर फूयाँलले बताउनुभएको छ । इञ्जीनियर फूयाँलले अहिलेसम्म कतैबाट गुनासो नभएकोले नेपाल टेलिकमको ध्यान नपुगेको तर्क राख्नुहुँदै तत्काल सेवाग्राहीबीच परस्पर बोलिएको आवाज पुग्न र सुन्न सक्ने यसको सम्प्रेषण क्षमता बढाएर र समयक्रममा टावर राखेर यहाँको सेवा–प्रवाह चुस्त हुने बताउनुभएको छ ।

सम्बन्धित खवर