राजेन्द्र महतो, लहान
सिरहामा एकै परिवारका दुई बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। सिरहाको नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा तैरिरहेको अवस्थामा सोमबार बेलुका भेटिएका हुन्।
गाउँमा बालकहरु हराइरहेको हल्ला भए पछि खोजतलास गर्ने क्रममा बेलुकी ७ बजे गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको नरहा गाउँपालिका–३ का वडाध्यक्ष अनिसुल अन्सारीले बताएका छ्न् । घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा बेलुका स्थानीय पोखरीमा उनीहरुको शव भेटिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । दुवै बालकको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै बालकको शव पोस्टमार्टमका लागि रा.उ. अस्पताल लहानमा राखिएको छ।