पथरी, कोरोना संक्रमित महिलाले आत्महत्या (देह त्याग) गरेपछि २४ घण्टा सम्म पनि शव झुण्डिएको अवस्थामै छ । मोरङको रतुवामाई १० सातमेडीमा सोमबार (हिजो) दिउँसो ३ बजे अन्दाजी ३८ वर्षीय नरमाया मगरले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
कोरोना संक्रमित रहेकी मगरले आत्महत्या गरेपछि प्रहरी प्रशासन शव कुरेर बसेको छ । शव व्यवस्थापन गर्नका लागि सेनाको टोली नै आइपुग्नुपर्ने भएपछि वडाका प्रतिनिधि, स्थानीय, परिवारका सदस्य र प्रहरी प्रशासन २४ घण्टा देखि शव कुरेर बसेको वडाध्यक्ष टंक ढकालले जानकारी दिनुभयो । हिजो नै जानकारी गराइएको तर रतुवामाईका मात्रै अरु थप २ वटा शव आजै व्यवस्थापन गर्नुपर्ने भएकाले ढिलो भएको हुनसक्ने ढकालले बताउनुभयो । अहिले साँझ सम्ममा शव व्यवस्थापनका लागि सेनाको टोली आउदै गरेकाले आज नै शवको व्यवस्थापन हुने ढकालले जानकारी दिनुभयो ।
करिब २ वर्ष अघि देखि नै मगरका दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी थिइन् । केही दिन अघि पनि डायलासिसका लागि नेवेल मेडिकल कलेज विराटनगर गएकी मगरलाई स्वासप्रस्वासमा समस्या आएपछि फोक्सोमा इन्फेक्सन भएको पत्ता लागेको थियो । सोही समयमा स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राख्नका लागि दैनिक १८ हजार तिनुपर्ने भएपछि खर्च अभावका कारण घरमा ल्याएर राखिएको छिमेकी कुमार नेपालीले जानकारी दिनुभयो । घरमा नै अक्सिजन लगाएर राख्ने भनेर ल्याएको बिरामीलाई बस्न र सहजताका लागि कुखुराको खोर (बोइलर फार्म) मा राखिएको थियो । आइतबार घर ल्याइएकी मगरले हिजो ३ बजे सोही खोरभित्रै सलमा झुण्डिएर आत्महत्या गरेको नेपालीले जानकारी दिनुभयो ।
मगर परिवारमा श्रीमान र श्रीमती मात्रै रहेका थिए । छोरा छोरी नभएका उनिहरुलाई दाजुभाइ र छिमेकीहरुले नै रकम संकलन गरेर डायलासिसका लागि लाने गरिएको थियो ।