विराटनगर : मोरङ प्रहरीले आपराधिक गतिविधी र सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ।
दसैं लगायत चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए।
चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी खड्का आफैले गरेका छन्। कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ। प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ।
चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रशासन लगायतका निकायसँग समन्वय गर्दै अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखेको जनाएको छ। कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि कोशी लगायत सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलासँग समन्वय भइसकेको खड्काको भनाइ छ।
चाडपर्वका समयमा प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताएका छन्। उनले चाडपर्वलाई लक्षित गर्दै प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिए।
ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ। उनले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेहरु तत्काल प्रहरीको फन्दामा पर्ने जानकारी दिए।