फिफाको वरियतामा नेपाल यथावत्, बेल्जियम शीर्ष स्थानमा

फिफाको वरियतामा नेपाल यथावत्, बेल्जियम शीर्ष स्थानमा

काठमाण्डौ : विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ ।

कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ । कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन ।

नेपालले आउँदो महिना भने बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १ सय ८ औं स्थानमा छ । यस्तै माल्दिभ्स १ सय ५५, भुटान १ सय ८९, बङ्गलादेश एक १ सय ८७, श्रीलङ्का २ सय ६ तथा पाकिस्तान २ सय औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

सम्बन्धित खवर