म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन

म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन

विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चोकमा आजदेखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक सहमती गरी अस्पताल सञ्चालन गरिएको हो ।

सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आईसियु) सहित ५० बेडको सेवा शुरु गरेको हो ।

सेन्टरले १२÷१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङ्क्रमितको उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताउनुभयो । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्वुलेन्सले कोभिड सङ्क्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ ।

सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताउनुभयो । उहाँले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० र अर्को एक स्थानमा अक्सिजन सहितको १०० बेडको कोभिड आइसोलेशन सञ्चालनमा ल्याउन लागिरहेको जानकारी दिनुभयो ।

महानगरपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्नुका साथै विराटनगर–१९, बैजनाथपुर, मारवाडी सेवा सदन, जैन भवन, काली सेवा सदन लगायतमा आइसोलसन सञ्चालन गर्दै आइरहेको छ । रासस

सम्बन्धित खवर