राजेन्द्र महतो, लहान
प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सिरहाको सुखिपुर नगरपालिकामा महिला हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। सुखिपुर ८ स्थित रामजानकी मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
रामजानकी टोल सुधार समितिका अध्यक्ष राम पुकार साहको अध्यक्षता तथा नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव प्रमुख अथितीमा महिला हिंसा सम्बन्धि जन चेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय सुखिपुरका सुरक्षाकर्मी र टोल सुधार समिति मिलेर रामजानकी मन्दिरको प्राङगणमा सरसफाइ गरि कार्यक्रम शुरु गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुखीपुरको प्रमुख राम नारायण यादवले हाम्रो समाजमा महिला हिंसा कसरी हुन्छ ?, उदेश्य हरु के के हुन्छ ?, दोषीलाई कानुनी सजाय कसरी दिने ?, महिला हिंसाबाट कसरी जोगिने र कानुनी न्याय कसरी पाउने ?, हाम्रो वरिपरि घटेको अपराधहरु कसरी न्यूनीकरण गर्ने बिषयमा बिस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय सुरक्षाकर्मी, युवा, विद्यार्थी, महिला, बालबालिका, राजनैतिक कर्मी, समाजसेवी तथा पत्रकार लगायत १ सय जनाको सहभागिता रहेको थियो ।