मोरङका कोरोना संक्रमित दुई जनाको विराटनगरमा मृत्यु

मोरङका कोरोना संक्रमित दुई जनाको विराटनगरमा मृत्यु

विराटनगर : कोरोना भाइरस संक्रमित दुई जनाको मंगलबार विहान विराटनगरमा मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो । गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा।दीपक सिग्देलले जानकारी दिनुभयो । स्वास्थ्य अवस्था जटिल बनेर गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको थियो ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । उनको बिहान ८ः१० बजेतिर मृत्यु भएको हो ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार श्वासप्रश्वासमा समस्या भएकोभन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

बेहोस अवस्थाका पुरुषको होस नखुल्दै मृत्यु भएको हो । मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्याबारे खुलेको छैन ।

सम्बन्धित खवर