सीमा शिल भए पनि जोगवनीमा किनमेल गर्नेको सङ्ख्या बढ्दै

सीमा शिल भए पनि जोगवनीमा किनमेल गर्नेको सङ्ख्या बढ्दै

विराटनगर : कोरोना महामारीका कारण सरकारले प्रदेश १ का अन्तर्राष्ट्रिय नाका काँकडभिट्टा र जोगवनी बन्द गरे पनि दसैंको किनमेल गर्न पारि (भारत) जानेहरूको संख्या ह्वात्तै बढेको छ ।

तर, विराटनगरको जोगवनी र काँकडभिट्टाको मेची नाकाको मुख्य बाटो नभई चोरबाटोबाटै पारि गएर सामान किन्न उपभोक्ताको लर्को लाग्न थालेको हो । मुख्य नाका जोगवनी र आईसीपीबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवतजावत बाक्लो छ । मेचीपुलबाट आउजाउ बन्द भए पनि त्यसको दक्षिण र उत्तरबाट सुरक्षाकर्मीको आँखा छलेरै पारिबाट दसैंका लागि आवश्यक उपभोग्य वस्तु किनेर नेपाल आउनेको भीड थामिनसक्नु हुने गरेको छ ।

आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक ३ हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर, प्रहरीकै सेटिङमा आउजाउ बढ्दै गएको हो । चोरबाटोबाट हुने खुला आउजाउले विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ ।

काम विषेशले जानेभन्दा पनि जोगवनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्याका मानिस नेपालबाट इस्लामपुर नाका हुँदै जोगवनी सामान किन्न जाने गरेको स्थानीय एबुल हुसेनले बताए । ‘दैनिक चार हजारसम्म मानिस नेपालबाट जोगवनीमा सामान किन्न जाने गरेका छन्’, उनले भने । महामारीको समय सीमापारि सामान किन्न जान दिनु सरकारको कमजोरी भएको उनले सुनाए ।

तरकारीलागायत दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेहरू बढ्दै गएको सिटी सफारी चालक राजेशले बताए । प्रहरी र जोगवनी जानेको सधैं भागाभाग हुने गरेको छ । इस्लामपुर नाकामा जोगवनी जाने मानिसलाई खेदाउँदाखेदाउँदै प्रहरी पनि आजित भएको उनको अनुभव छ ।

कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भारत जाने र आउनेको घुइँचो लाग्ने गरेको छ । उक्त नाका हुँदै जोगवनी जानेमा महिला र बालबालिकाको संख्या बढी छ ।

इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ । दिनमा कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान ल्याउन दिने गरेको स्थानीय सलिम मियाँले बताए । एक व्यक्तिको सामान बराबर पाँच सयदेखि दुई हजारसम्म लिने गरेको उनको दाबी छ । नाका पूर्ण रूपमा बन्द नगराएर संक्रमण गाउँमा फैलाउन प्रशासन लागिपरेको उनले गुनासो गरे । (आर्थिक अभियान)

सम्बन्धित खवर