सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै डा. केसी

सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै डा. केसी

काठमााडौं, अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । यससँगै डा. केसीले आज अनशन तोड्नुहुने भएको छ । सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा. केसीसँगै ठोस वार्ता गरेपछि सहमति जुटेको बताइएको छ । यसअघि बिहीबार र शुक्रबारका वार्ता विना निष्कर्ष टुंगिएका थिए ।

सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेको थियो । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा तेस्रो पटकको वार्तामार्फत सहमति जुटेको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । साथै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

 

सम्बन्धित खवर