सरकार र डाक्टर केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गियो

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गियो

काठमाण्डौ ; सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ ।

गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । अस्ति भएको सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ ।

केसी पक्षले भने सरकारले डाक्टर केसीको ज्यान जोखिममा पार्न चाहेकाले निश्कर्षमा पुग्न ढिलाइ गरिरहेको आरोप लगाएको छ । यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । यस्तै उहाँको छातीमा समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको उहाँको भनाइ छ ।

स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपछि डाक्टर केसीले अस्वीकार गर्दै आउनुभएको छ । डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ ।

उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।

उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।

सम्बन्धित खवर