खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एकीकृत सेवा केन्द्र सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एकीकृत सेवा केन्द्र सुरु

खोटाङ : नागरिकलाई आफ्नै गाउँ-ठाउँमा पुगेर सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको छ ।

नागरिकलाई ‘गाउँ-गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूती गराउने उद्देश्यका साथ हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा नागरिकको घरदैलोसम्म पुर्याउन एकीकृत सेवा केन्द्र स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

साविकको मंगलटार ४ र ५ का १ सय ३० घर परिवारलाई लक्षित गरी नगरपालिकाले ‘घर(घरमा स्थानीय सरकार’ भन्ने नारासहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो । नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा दुई कोठे एकीकृत सेवा केन्द्रको भवन निर्माण गरिएको हो ।

एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायतका स्वास्थ्य सेवा समेत उपलब्ध गराइनेछ । केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने मेयर राईले बताउनुभयो । एकीकृत सेवा केन्द्र सञ्चालनका लागि मंगलटारकै साविकको ८ र ९ का लागि घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको मेयर राईले बताउनुभयो ।

सम्बन्धित खवर