ताप्लेजुङ : नेपालको पूर्वोत्तर सीमाक्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ मौवाटारमा स्थापना हुने बोर्डर आउट पोष्ट (बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ ।
ओलाङ्चुङगोलालाई अस्थायी मुकाम बनाएर बस्ने बिओपीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएकोछ ।
मौवाटारमा रहने बिओपी केन्द्र त्यहाँ भवनसहितको संरचना बनेपछि मात्र गोलाबाट स्थानान्तरण हुनेछ । मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेलसम्मका लागि ओलाङ्चुङगोलामै बिओपी टोली रहने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो ।
बिओपी स्थापनाले अन्तरदेशीय सीमा सुरक्षा व्यवस्थापन, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले विश्वास व्यक्त गर्नुभएको छ । बिओपी उद्घाटन भएपछि स्थानीय बासिन्दामा भव्य उल्लास छाएको थियो । तत्काललाइ २० जना जनशक्ति रहेको बिओपीको नेतृत्व शसस्त्र प्रहरी निरीक्षक युवराज खड्काले गर्नुहुनेछ । मौवाटारमा संरचना बनेपछि भने ५० जना सम्म जनशक्ति रहने जानकारी सशस्त्र प्रहरीले दिएको छ ।
ओलाङ्चुङगोलाको बिओपी उद्घाटन कार्यक्रम सकेर मन्त्री भट्टराइसहितको टोली संखुवासभाको तुम्लिङटारतर्फ प्रस्थान गरेको छ । टोली त्यहाँबाट किमाथाङ्का पुगेर बिओपी भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल १ नं बाहिनी प्रमुख डिआइजी बंशीराज दाहालले जानकारी दिनुभयो । किमाथांकामा यसअघि नै बिओपी बसिसकेको छ ।
चालु आर्थिक बर्षमा प्रदेश नं १ मा २४ स्थानमा बिओपी राख्ने सशस्त्र प्रहरीको योजना छ ।