मोरङ प्रहरीद्वारा तस्करीका सामान बरामद

मोरङ प्रहरीद्वारा तस्करीका सामान बरामद

विराटनगर : प्रहरीले मोरङका विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरेको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपालबाट तस्करी गरेर भारततर्फ लगिँदै गरेको सूचनाका आधारमा एक लाख ८० हजार मूल्य बराबरको मटर बरामद गरिएको बताउनुभयो ।

उहाँका अनुसार नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको श्याम मण्डलको घरको आँगनबाट मटर बरामद भएको हो । आधिकारिक बिल देखाउन नसकेपछि र भारततर्फ कटाउन लागेको अवस्थामा तस्करीको मटर नियन्त्रणमा लिइएको खड्काले बताउनुभयो ।

त्यस्तै विराटनगर महानगरपालिका–१५ बाट भारतदेखि नेपालतर्फ अवैध रुपमा आयात भइरहेको कपडा, जुत्ता र किराना मालसामान प्रहरीले मंगलबारराति बरामद गरेको छ । प्लाष्टिकको बोरामा प्याक गरेर आयात गर्दै गरेको अवस्थामा एक लाख २६ हजार मूल्य बढीको जुत्ता, कपडा र किराना सामान नियन्त्रणमा लिइएको एसपी खड्काको भनाइ छ ।

विराटनगर–१४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ । एक लाख आठ हजार मूल्य बराबरको काजु र जिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । एसपी खड्काले बरामद भएका भन्साली छलीका अवैध सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको बताउनुभयो । उहाँले नियन्त्रणमा लिइएका सबै सामान चार लाख १४ हजार दुई सय रुपैयाँ बराबरको रहेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर