नेकपाको सचिवालय बैठक अनिश्चितकालको लागि स्थगित

नेकपाको सचिवालय बैठक अनिश्चितकालको लागि स्थगित

आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालको लागि स्थगित भएको छ।

शनिबार स्थगित भएको बैठक आइतबार ४ बजे बोलाइएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका पाँचजना सदस्यलगायतका कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको बताइएको छ।

आइतबार बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। अर्को बैठक कहिले बस्ने यसबार टुंगो नलागेको उनले बताउनुभयो।

प्रधानमन्त्री ओलीका तीनजना सल्लाहकार, सचिवालयका कर्मचारीका साथै ६० जनाभन्दा बढी सुरक्षाकर्मीलाई शनिबार संक्रमण पुष्टि भएको छ।

सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न नेकपाले सचिवालय बैठक बोलाएको थियो।

प्रधानमन्त्री ओलीले हालै गरेका केही राजनीतिक नियुक्तिलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन्।

सचिवालय बैठकमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नुका साथै स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरुको पदपूर्तिलगायतका विषयमा छलफल गर्न एजेन्डा तय भएको बताइएको छ।

सम्बन्धित खवर