स्वास्थ्य संयोजक सहित पथरी शनिश्चरेमा ९ जनामा कोरोना, नगर अस्पतालको सेवा बन्द

स्वास्थ्य संयोजक सहित पथरी शनिश्चरेमा ९ जनामा कोरोना, नगर अस्पतालको सेवा बन्द

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ ।

कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएको मध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधि समेत परेका छन् ।

यसैबीच, नगर अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना देखा परेपछि अस्पताल व्यवस्थापन समितिको आजको आकस्मिक बैठकले अस्पतालका सम्पूर्णको कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालले सेवा प्रवाह रोकिने निर्णय गरेको छ । पीसीआर रिपोर्ट नआएसम्म विरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा बसाई रिपोर्टको अवस्था अनुरुप अस्पताल सञ्चालनको व्यवस्थापन गरिने भएको हो । विश्वमै कोरोनाको कहर भएको अवस्थामा नगरमा समेत बढेको कोरोना विरामीको अवस्थालाई हेरेर वाध्य भएर यसखाले निर्णय गर्नुपर्दा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी रहेको व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागार्ईंले बताउनु भयो । असोज १३ देखि १६ गतेसम्म नगर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका सेवाग्राहीलाई घरमा स्वास्थ्य सतर्कता अपनाएर बस्न र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न समेत सूचित गरिएको छ ।

नगरमा कोरोना संक्रमित बढेको अवस्थामा भोली विहान नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठक बस्ने भएको छ । नगर प्रमुख एवम् समन्वय समितिका संयोजक दिलीपकुमार राईले नगरवासीलाई कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले हात धुन वा सेनिटाइजर प्रयोग गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

सम्बन्धित खवर