पुल नहुदा सास्ती, वाढी आएपछि घण्टौँ सम्म खोलामै

पुल नहुदा सास्ती, वाढी आएपछि घण्टौँ सम्म खोलामै

राजेन्द्र महतो, लहान

सिरहाको धनगढीमाई नगरपालिका १२ स्थित सरे खोलामा पुल नभएपछि स्थानीयले वर्षौँ देखि सास्ति खेपिरहेका छन् । वाढी आएको समयमा घण्टौँ सम्म पर्खिनुपर्ने बाध्यता रहेको छ ।

वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ। हिँउदको समयमा जोखिम कम हुने भए पनि वर्षातको समयमा यो खोला तर्न निकै सकस हुने गरेको स्थानीय मोतिराम महतोले बताए । ३ तहको सरकार भएपनि कुनैपनि सरकारले पुल बनाउने विषयमा चासो नदिएको महतोले बताए । आफ्ना पुर्खादेखिको समस्या अझै समाधान नहुुँदा ३ तहको सरकारबाट कामहुने आस मरेको महतो बताउछन् ।

पुलका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् तर हालसम्म पनि कसैले यसतर्फ ध्यान दिएका छैनन् । ‘वर्षातको समयमा खोलामा धेरै पानी हुन्छ, विहान र बेलुकी स्थानीय कर्मचारीहरु यही खोलाबाट वारपार गर्छन्’, गडमेका स्थानीयले भने,‘ कतिबेला कार्यालय पुग्ने भर हुन्न, पुल नहुँदा निकै दुःख छ।’ खोला तर्न पुल नभएपछि समयमा कार्यालय जान नसकेको उनिहरु बताउछन् ।

वर्षातले खोलामा पानी बढ्दा बिरामीलाई अस्पताल सम्म उपचारका लागि लैजान नसकेर मृत्यु समेत हुने गरेको स्थानीय खुसीलाल महतोले बताएका छ्न् । सरकारले काम गर्नुको सट्टा आश्वासन मात्रै बाँडेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

सम्बन्धित खवर