निमार्ण भएको ६ वर्ष पुग्न लाग्दा पनि रतुवा पुल अपुरै, सञ्चालनका लागि पहल सुरु

निमार्ण भएको ६ वर्ष पुग्न लाग्दा पनि रतुवा पुल अपुरै, सञ्चालनका लागि पहल सुरु

मोरङको रतुवामाई नगरपालिका स्थित आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा बनेको पुल निमार्ण भएको ५ वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि थप पहल सुरु गरिने भएको छ ।

पुल सञ्चालनका लागि बुधबार संविधानसभा सदस्य तथा नेकपा मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, रतुवामाई नगरपालिकाकी उपप्रमुख दमन्तादेवी चुडाल, नेकपा मोरङ जिल्ला कमिट सदस्य मेघनाथ शर्मा कट्टेल र नन्दकुमार चापागाई (गोपी) सहितको प्राविधिक टोलीले अनुगमन गर्दै पुल सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको हो ।

पोखरेलले सम्बन्धीत सरकारी अधिकारीलाई महादेवास्थित रतुवाखोलामा लगेर स्थलगत निरीक्षण गराई समस्या समाधानका लागि पहल थालेपछि यतिबेला स्थानीय हौसिएका छन् । झापा मोरङ जोड्ने सो पुल सञ्चालनमा आएपछि वर्षौँ अघिदेखिको समस्या समाधान हुनेमा अब भने स्थानीय ढुक्क बनेका छन् ।

निरीक्षणपछि संविधानसभा सदस्य पोखरेलले हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख रमेशकुमार सिंहलाई सो पुल सञ्चालनमा ल्याउन योजाना अन्तर्गतको काम चाँडै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उहाँले हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख सिंहलाई योजना अन्तर्गतको सबै काम सम्पन्न गर्न निर्देशन दिँदै अन्य कामका लागि आफूले पहल थाल्ने बताउनुभयो । पुलमा स्पान संख्या थप्ने कि खोलामा तटबन्ध निर्माण गरी सोही पुललाई नै सञ्चालनमा ल्याउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पहल गर्ने जिम्मा पोखरेलले लिएसँगै आगामी वर्षदेखि उक्त पुल सुचारु हुनेमा स्थानीय विश्वस्त भएका छन् ।

रतुवा खोलामा पुल नहुँदा प्रत्येक वर्ष वर्षायाममा स्थानीयलाई कि भारतको फुडबडीया या झपाको दमक हुँदै घण्टौँ लगाएर हिँड्नुपर्ने बाध्यता छ । रतुवा खोलाबाट झापाको गौरीगञ्ज बजार १० मिनेटको दूरीमा पर्छ । तर, वर्षायाममा झण्डै ३ घण्टाको बाटो घुमेर जानुपर्ने बाध्यता छ । बर्खायाममा खोला तरेर जान खोज्दा अहिलेसम्म धेरै ज्यान गुमाइसकेका छन् ।

लामो पखाईपछि रतुवाखोलामा पुल निर्माणको काम सुरु भएसँगै स्थानीय उत्साहित थिए । गत वर्ष मात्र पुल निर्माण भए पनि प्रयोगमा नआउँदा स्थानीयको उत्साह निरासामा परिणत भएको थियो ।

सुनसरी–मोरङ पुल आयोजनाले उक्त पुल आव २०६४/०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर पुल ९ करोडमा निर्माण गरेको निर्माण कम्पनीले जनाएको छ । पुलको लम्बाइ भन्दा खोलाको चौडाइ ठूलो भएकाले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम गरेको छैन ।

निर्माण सम्पन्न भइसक्दा पनि पुल सञ्चालनमा ल्याउन नसक्दा सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर आयोजना विभागको निर्देशनअनुसार काम नगर्दा पुल बेकाम्मे बनेको हो ।

पुल हुलाकी राजमार्गअन्तर्गत पर्दछ । झापा र मोरङका दक्षिणी भेगका बासिन्दाका लागि उक्त पुल अत्यन्त आवश्यक छ । पुल नहुँदा झापाका साविक गौरीगन्ज, खजुरगाछी, कोहबरा, कोरोबारी तथा मोरङका साविकका सिजुवा, इटहरा, झुर्किया, महादेवालगायतका गाविसका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा केही सहज भए पनि बर्खाका बेला डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।

निर्माण सम्पन्न भएर पनि लामो समयसम्म सञ्चालनमा नआएपछि उक्त पुल हेर्ने जिम्मा गत वर्षदेखि हुलाकी सडक निर्देशनालय इटहरीले पाएको छ ।

हुलाकी मार्गमा रतुवा खोलाको पुल निर्माण भएपछि स्थानीयले सहज रूपमा गौरीगञ्जबाट विराटनगरसम्म आवतजावत गर्न पाइने आशा गरेका थिए। विराटनगर–भद्रपुर हुलाकी सडकखण्डमा पर्ने यो पुल पूरा भए दक्षिणी भेगबाट सोझै झप्परतल, रंगेली हुँदै विराटनगर झर्न निकै सहज हुने स्थानीयहरूको अपेक्षा थियो ।

सम्बन्धित खवर