पोखरा : कास्कीकोट युवा संजालको तेश्रो वार्षिक साधारणसभाले ‘कास्कीकोट कल्याणकारी कोष’ स्थापना गरेको छ । साथै संयोजक हेम सुबेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम पारित भएका छ्रन् ।
निस्वार्थ रुपमा सामाजिक हितका लागि जोकोहीले पनि एक दिनको एक रुपैयाँका दरले सहयोग गर्न सक्नेगरी ल्याइएको विशुद्ध सामाजिक अवधारणानै ‘दिनको एक रुपैयाँ’ अवधारणा भएको र यस अवधारणा मार्फत धेरै भन्दा धेरै जनाको दिनको एक रुपैयाँ संकलन गरी कोष खडा गरिने दावी हेम सुवेदीले गरे ।
योगदानकर्ताहरुबाट संकलित रकमलाई‘मूल कोष’ मानी उक्त कोषको परिचालन गरी (मुद्दति निक्षेपमा राखी) आउने ब्याज लगायतका आम्दानीलाई प्रयोग गरी आपत विपदमा परेका मानिसहरुलाई सहयोग गरिने जानकारी संस्थाका प्रविधिक संयोजक रुद्रप्रसाद अधिकारीले दिए ।अभियान मध्येका एक अवधारणाकर्ता, संजालका संस्थापक एवं पूर्व संयोजक चन्द्रेश्वर बस्ताकोटीले कोषमा सिमित रकम भएको अवस्थामा र राहत रकमको माग धेरैबाट हुन सक्ने अवस्थामा कोषको दानकर्ता नै पीडित बन्न पुगेकोमा पहिलो प्राथमिकता दानकर्तालाई दिइने कुरामा जोड दिए ।
कुनैरोगका कारण जीवनमरणको दोसाँधमा रहेका, बाढी,पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपका कारण परिवारका सदस्य, घर तथा सम्पत्ति गुमाएका,अति गरीब (गाँस, बास,कपासको कुनै टुङ्गो नभएका), आगलागी वा कुनै दुर्घटनाबाट पीडित आर्थिक र पारिवारिक रुपमा अत्यन्तै दयनीय, बालबालिका, वृद्ध, असाहय, अशक्त आदिलाई प्राथमिकतामा राखि आवश्यकताको आधारमा राहत रकम उपलब्ध गराईने जानकारी अभियान मध्येका एक बालहरि शर्मा सुबेदीले दिए ।
दिनको एक रुपैयाँ अभियानको माध्यमबाट ‘कास्कीकोट कल्याणकारी कोष’ स्थापना भएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व, वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुबेदीले कोषमा रकम जम्मा गर्नको लागि बिशेष पहल गर्ने साथै कोषबाट भविष्यमा वास्तविक पीडित लाभान्वित हुनेमा बिश्वास ब्यक्त गरे ।
सल्लाहकारमा स्वास्थ्य क्षेत्रबाट डा. दीपक मल्ल, खेलकुद क्षेत्रबाट कुलबहादुर थापा, योग तथा साधना क्षेत्रबाट प्रद्रीप कुमार श्रेष्ठ र संचार एवं प्रबिधि क्षेत्रबाट सालिकराम सुबेदीलाइ मनोनयन गरिएको जानकारी संस्थाका ब्यबस्थापन संयोजक शितल गिरीले दिए । उक्त कार्यक्रममा डा. अनिल सुबेदी, अन्निधर त्रिपाठी, शालिकराम सुबेदी, प्रभात त्रिपाठी लगाएतले बोलेको जानकारी संस्थाका सहसंयोजक राजु कार्कीले दिए ।