श्रवणदृष्टिविहीन अपाङ्गता भएकालाई सक्षम बनाइँदै

श्रवणदृष्टिविहीन अपाङ्गता भएकालाई सक्षम बनाइँदै

विराटनगर : श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आफैँ गर्न सक्षम बनाउनका लागि उनीहरुलाई सिकाइ कार्य सञ्चालन भएको छ ।

कोशी बहिरा सङ्घले सञ्चारकर्मीलाई जानकारी दिन आज आयोजित कार्यक्रममा मोरङमा तीनवर्षे परियोजनाअन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिलासहित ११ जनालाई विभिन्न सिकाइलगायत सेवा उपलब्ध गराइएको जानकारी दिइयो ।

श्रवणदृष्टिविहीन २० वर्ष उमेर समूहका लागि विभिन्न सुविधा उपलब्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्बन्धका सिकाइलगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलालले बताउनुभयो । सङ्घका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर, टोल, छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्ति भए सङ्घलाई जानकारी गराइ उनीहरुलाई जीवनोपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।

सङ्घले राष्ट्रिय बहिरा महासङ्घको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलब्ध गराउने सङ्घका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार मोरङमा १०६ महिलासहित २५४ श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्ति छन् ।

सम्बन्धित खवर