सीप नहुदा सिन्धुलीमा अल्लो सोत्तरको रुपमा प्रयोग

सीप नहुदा सिन्धुलीमा अल्लो सोत्तरको रुपमा प्रयोग

सिन्धुली : सिन्धुली जिल्लाको महाभारत जंगलमा प्रशस्त पाईने अल्लो वनस्पती प्रशोधनको अभावमा खेर गएको छ ।

स्थानीय बासिन्दालाई प्रशोधन सम्बन्धि ज्ञान नहुदा उक्त मूल्यवान वनस्पती खेर गएको हो । हाल जिल्लाका बाहुनतिल्पुङ्, जलकन्या, महादेवडाँडा, तीनकन्या, रतनचुरा, भद्रकाली, पोखरी लगायत एक दर्जनभन्दा बढी ठाँउमा यो वनस्पती प्रशस्त मात्रामा पाईने स्थानीय बासिन्दा बताउछन् ।

उनीहरुका अनुसार अल्लोलाई प्रशोधन गरी त्यसको धागोबाट पछ्यौरा, पेटी, जुत्ता, ज्याकेट, टोपी, झोला आदी बनाएर आम्दानी लिन सकिने भएपनि प्रशोधन गर्ने सीप नहुदा उक्त वनस्पतीलाई स्थानीय किसानहरुले गाई भैंसिलाई खुवाउने घाँसका रुपमा प्रयोग गर्दै आएका छन् ।

यसलाई प्रशोधन गरी सामग्री बनाएर निर्यात गर्न सके स्थानीय बासिन्दाको आय आर्जनको राम्रो स्रोत बन्ने र बर्सेनि ठूलो रकम गाँउघरमा भित्रने फिक्कल गाँउपालिका १ महादेवडाँडा निवासी किसान गणेशबहादुर बिक बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तर अहिले उक्त वनस्पती गाँउघरमा घाँसका रुपमा प्रयोग हुदै आएको छ । अल्लोलाई काटेर दुई÷तीन दिन घाममा सुकाई ओइल्याई गाई भैंसिलाई खुवाएमा दुध बढी आउदछ ।”

जिल्लाको महाभारत जंगलको ओसिलो भागमा प्रशस्त मात्रामा पाईने अल्लोलाई आय आर्जनको रुपमा विकास गर्न सम्बन्धित निकायले ध्यान दिनु पर्ने र यसले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्नमा पनि ठूलो टेवा पु¥याउने उहाँको भनाई छ ।

त्यस्तै महादेवडाँडाकै बासिन्दा खड्गबहादुर सुनुवार केही बर्षपहिले उक्त ठाँउमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट अल्लो प्रशोधन सम्बन्धि तालिम पाएका १९ जना बेरोजगार किसानले तालीमपछि व्यवसायमा लागेका भएपनि उत्पादित कपडाले स्थानीयस्तरमा बजार नपाएपछि व्यवसायबाट विस्थापित भएका बताउनुहुन्छ ।

“धेरै मिहेनत गर्नु पर्ने भएकाले अल्लोको कपडाको मूल्य पनि धेरै नै पर्न जान्छ”, उहाँले भन्नुभयो, “उक्त कपडाभन्दा बजारमा किन्न पाईने कपडा सस्तो भएकाले उपभोक्ता पनि बजारकै कपडा खरिद गर्दछन् । त्यसकारणले पनि अल्लोको कपडाले बजार पाई रहेको छैन ।” अल्लोको कपडाको महत्व बुझेकाले भने उक्त कपडा नै खरिद गर्ने गरेपनि त्यस्ता उपभोक्ताको अभाव रहेको उहाँको ठम्याईछ ।

सम्बन्धित खवर