जंगबहादुरले शुरु गरेकाे बली प्रथा १ सय ७२ वर्षपछि रोकियो

जंगबहादुरले शुरु गरेकाे बली प्रथा १ सय ७२ वर्षपछि रोकियो

काठमाडौं : पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाद्धारा शुरु गरिएको बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकिने भएको छ । विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको हो ।

बली व्यवस्थापन गर्ने निकाय कौशितोषाखानामा करिब एक साताअघि बसेको बैठकले यो वर्षको दशैंमा मूल घरमा दिइने बली रोक्ने निर्णय गरेको हो । गृह र संस्कृति मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, पुरोहित र सरोकारवाला निकायको बैठकले कोरोना महामाहारीका कारण यो मूलचोकमा दिने बली स्थगित भएको कौशितोषाखानका शाखा अधिकृत राजभाइ श्रेष्ठले जानकारी दिनुभयो ।

तीन दिन गरी १ सय ६२ बोका, त्यति नै संख्यामा राँगा बली दिइन्थ्यो । काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको कारण बली रोक्नुपरेको श्रेष्ठको भनाइ छ । दशैंमा मूलचोकमा बली नदिए पनि अन्य पीठमा भने बली जारी रहेको उहाँको भनाइ थियो । सरकारले यो वर्षको चैते दशैंमा पनि मूलचोकको बली स्थगित गरेको थियो ।

दशैंघरमा १० दिनसम्म बोका र अष्टमीको दिन राँगाको बली दिने प्रचलन रहेको छ । शाखा अधिकृत श्रेष्ठका अनुसार अहिलेसम्म मूलचोकबाहेक अन्य दिन बली दिने प्रचलन यथावत् रहने बताउनुभयो । तर, कोरोना संक्रमण बढेमा सरकारले गर्ने निर्णयको बारेमा कार्यालयले कुनै जानकारी दिन नसक्ने उहाँको भनाइ छ । तलेजुका मूल पुजारी कर्माचार्यले परम्परालाई जोगाउन सावधानी अपनाएर बली दिनुपर्ने अवस्थामा एकाएक स्थगित गर्नु गलत भएको बताउनुभयो ।

फूलपातीको दिन तलेजुलाई त्रिशूलचोकमा ल्याएर राख्ने र सोही दिनबाट बली दिने प्रचलन छ । तलेजुका मूल पुजारी कर्माचार्यले तलेजु भवानीलाई ४२ वटा निख्खर कालो र एउटा बेचोखो बली दिने प्रचलन रहेको छ । पुजारी कर्माचार्यका अनसार तलेजुमा ४३ वटा बोका र ११ वटा राँगा र केही हाँस बली दिने प्रचलन रहेको छ । उहाँले दशैंमा बलीको व्यवस्था नभए तलेजु भवानीलाई नल्याउने चेतावनी दिनुभयो । राज्यले दशैंमा तलेजुको बली प्रथा स्थगित गरे आफूहरुले अस्वीकार गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘संस्कृति मास्ने नाममा बली रोक्न मिल्दैन ।’

सम्बन्धित खवर