पोखरा : भोली राती १२ बजेदेखि कास्कीमा निषेधाज्ञाको म्याद सकिँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै निषेधाज्ञा नथप्ने जनाएको छ । यसअघि तीन पटकसम्म निषेधाज्ञाको म्याद थपेको प्रशासनले बढी भीडभाड हुने क्षेत्र बाहेकका ठाउँहरुमा निषेधाज्ञा नलगाउने निर्णय लिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले बढी भीडभाड हुने बाहेकका ठाउँमा निषेधाज्ञा नलगाउने निर्णय लिएको जनाएको छ ।
संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सदस्यका अनुसार सुरक्षाका आवश्यक मापदण्ड अपनाएर सार्वजनिक सवारीलाई पनि सञ्चालनको लागि अनुमति दिइने भएको हो । विद्यालय, कलेज, व्यायाम हल, सभा, समारोह, गोष्ठी लगायतका क्षेत्रमा भने निषेधाज्ञा कायमै राखिएको छ । ‘सार्वजनिक सवारीहरु भोलिदेखि निश्चित मापदण्ड पूरा गरेर चल्छन् ।
विद्यालय, क्याम्पस, ब्युटीपार्लर लगायत अलि बढी भीडभाड हुने ठाउँहरु बन्दै रहने छन्’, बैठकमा सहभागी एक सदस्यले भने, ‘निश्चित सुरक्षा मापदण्ड अपनाएर मनोरञ्जन, बढी भीडभाड हुने क्षेत्र बाहेक अन्य क्षेत्रमा निषेधाज्ञा नलगाइने भएको छ ।’ यद्यपि, सुरक्षा मापदण्डभने पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।
लामो समयसम्म थन्किएर बसेका यातायात व्यवसायीले यसअघि नै सरकारको अनुमति नपाए पनि आफ्ना सवारी गुडाएरै छाड्ने प्रतिबद्धता पनि जनाएका थिए । नभन्दै प्रशासनले सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय लिएको छ ।
सार्वजनिक सवारी सञ्चालन गर्दा निश्चित मापदण्ड दुई वटा सिटमा एक जना यात्रु राख्नुपर्ने छ । यस्तै, सवारीमा चढ्नु अघि सेनिटाइजरले हात धोएर मात्रै यात्रु चढाउन पाइने छ । बैठकमा सहभागीका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै सार्वजनिक सवारीले सञ्चालन अनुमति पाउने छन् ।
अन्य क्षेत्रमाथिको प्रतिबन्धबारे प्रशासनले भोलिमात्रै निर्णय सार्वजनिक गर्ने बताइएको छ । भीडभाडयुक्त ठाउँहरुमा बाहेक निषेधाज्ञा हटाउने निर्णय बैठकले लिए पनि भोलि मात्रै निर्णय सार्वजनिक हुने सहायक जिल्ला अधिकारी श्रीनाथ बरालले बताए । कास्कीको निषेधाज्ञा पनि उत्पकाको जस्तै मोडेलमा हुन स्रोतको भनाई छ ।
भदौ २ गते राती १२ बजेदेखि लागू हुने गरि १२ गतेसम्म पूर्ण रुपमा जारी निषेधज्ञालाई सिसिएमसीले भदौ २७ गते राती १२ बजेसम्मको लागि खुकुलो पारेको थियो । २ हप्ते लामो खुकुलो निषेधाज्ञामा अन्य क्षेत्रमाथिको प्रतिबन्ध खुकुलो भए पनि सार्वजनिक यातायातमाथिको प्रतिबन्ध भने कायमै थियो । शुक्रबार बसेको बैठकले सार्वजनिक यातायात माथिको प्रतिबन्ध पनि खुकुलो पारेर सार्वजनिक यातायात सञ्चालनको लागि अनुमति दिएको हो ।
वडामा लगाइएको सिल पनि हटाइयो
पोखरा महानगरका ३ वडाका विभिन्न स्थानमा लगाइएको सिल पनि हटेको छ । भदौ १९ गते राती १२ बजेदेखि लागू हुने गरि वडा नम्बर १०, १२ र १३ ले वडाका विभिन्न टोलहरुमा सिल घोषणा गरेका थिए ।
पोखरा औद्योगितक क्षेत्रको एक बिस्कुट कम्पनीमा कार्यरत २२ जना मजदुरमा एकै दिन कोरोना पुष्टि भएपछि ३ वडाले संयुक्त विज्ञप्ति जारी गर्दै वडाका विभिन्न टोलहरु सिल गरेका थिए । संक्रमित मजदुरहरु बस्ने टोलहरु कन्ट्याक्ट ट्रेसिङको सजिलाको लागि सिल गरिएको थियो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका १ सय ९३ मध्ये रिपोर्ट आएका अधिकाशंमा संक्रमण नदेखिएपछि सिल हटाइएको वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले बताए । केहीको रिपोर्ट भने आउन बाँकी रहेको उनले सुनाए ।