पोखरा : पोखरा महानगरपालिका वडा नं १७ को सीतापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुविधासम्पन्न बनाउनुपर्नेमा पोखरा महानगरकी उप– प्रमुख मञ्जुदेवी गुरुङ्गले जोड दिएकी छन् ।
पोखरा बृद्धाश्रमले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अवधारणा अगाडी सारेको सन्दर्भमा आश्रमले थप संरचनाको विकास गर्न जरुरी रहेको बताएकी हुन् ।
थप संरचना बनाउन आवश्यक रहेको र त्यसको लागि पोखरा महानगरपालिको आवश्यक सहयोग हुने पनि उनले उल्लेख गरिन् । कार्यक्रममा बोल्दै उप– प्रमुख गुरुङ्गले बृद्धबृद्धाहरु जिउँदो भगवान हुन् भन्दै सकेसम्म उनीहरुलाई घरमै राख्नुपर्नेमा कतिपय अबस्थामा साहाराबिहीन बाबाआमाहरु भेटिने भएकाले उहाँहरुको जिम्मा आश्रमले लिने परिस्थिती सिर्जना हुने बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताए । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताए । पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलीले अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको आश्रमलाई बहुआयामिक रुपमा विकास गर्ने आफ्नो सपना रहेकाले त्यसका लागि थप जग्गा आवश्यक रहेको बताएका थिए ।