कुकुरसहित एकै घरका ३ जनाको हत्या

कुकुरसहित एकै घरका ३ जनाको हत्या

मध्यपुरथिमि नगरपालिका ९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदिप अधिकारी, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । दोश्रो तलाको भ¥र्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

आज करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदिपको शव फेला परेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । मृतकका भाइ सुदिपका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिनुभयो ।

तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उहाँले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताउनुभयो । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखाको अनुसन्धान विज्ञ टोलीसहितले राति ८ः३० बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ । महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले घरका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको जानकारी दिनुभयो । कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नपाइएको जानकारी दिँदै उहाँले अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न नसकिने बताउनुभयो । रासस

सम्बन्धित खवर