रुख काट्ने चार जना पक्राउ

रुख काट्ने चार जना पक्राउ

 

धरान ; धरान उपमहानगरपालिका वडा नम्बर २० भालढुङ्गा सामुदायिक वनमा काँचो सखुवाको रुख काट्ने चार जनालाई सव–डिभिजन वन कार्यालय विष्णुपादुकाले पक्राउ गरेको छ ।

रुख काट्नमा संलग्न रहेका धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई पक्राउ गरिएको सव– डिभिजन वन कार्यालयका प्रमुख तथा अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

समूहका अध्यक्ष बुद्धिमान तामाङले गत भदौ १८ गते किटानी जाहेरी दिएका थिए । विद्युतीय आरा प्रयोग गरी सालको रुख काटेर १२ थान टुना निकासी गर्ने अवस्थामा बरामद गरिएको र उनीहरूले आफूहरूले ज्यालामजदुरी मात्र गरेको भन्ने अभिव्यक्ति दिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

तामाङले वन ऐन २०७६ र प्रचलित कानून प्रतिकूल कसुर अपराध भएको हुँदा अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही तथा सजाय गर्न पनि माग गरेका थिए ।

भदौ २१ गते सव–डिभिजन वन कार्यालयलाई पठाएको लिखित प्रत्युत्तरमा पनि नगर प्रमुख राईको निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको रोहवरमा काटिएको सत्य भएको उल्लेख गरेका थिए । समूहका ८ जना पदाधिकारीहरूले भने कसले, कसको निर्देशनमा काटिएको हो भन्ने नखुलेको प्रत्युत्तर दिए पनि अध्यक्ष तामाङले स्पष्टसँग किटानका साथ प्रत्युत्तर पठाएका थिए ।

अध्यक्ष तामाङले ६ जनाको नाममा जाहेरी दिएको भए पनि ४ जना मात्रै पक्राउ गरिनुमा आशङ्का व्यक्त गरे । धरानको मेयर तिलक राईले रुख काटन निर्देशन दिएको आरोप लाग्दै आएको छ ।

सम्बन्धित खवर