अस्पतालले सुत्केरीको भर्ना लिन नमादा मृत्यु

अस्पतालले सुत्केरीको भर्ना लिन नमादा मृत्यु

 

विराटनगरः विराटनगरका अस्पतालले विरामी लिन नमादा विरामीको ज्यान भएको घटना पटक पटक दोहोरिने गरेको छ ।

विहिवारपनि सरकारी अस्पताल कोशीले एक सुत्केरीको भर्ना लिन नमादा उनको घरमा नै ज्यान गएको छ ।

प्रसूतिका लागि लगिए पनि विराटनगरको कोशी अस्पतालले भर्ना गर्न नमानेपछि एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलमा परिवारसँग बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो।

प्रसूति व्यथाले च्यापेपछि उहाँलाई बिहान १ बजेतिर श्रीमान शिवु ऋषिदेवले कोशी अस्पताल पुर्याएका थिए ।

तर कोशीले बेड खाली नभएकोभन्दै भर्ना नलिएपछि उनलाई घर फर्काइएको थियो ।

अस्पतालबाट फर्काएर घरमा लगिएकी महिलाको बच्चा जन्माउन नपाउँदै ज्यान गएको स्थानीय विकेश मुखियाले बताउनुभयो ।

अत्यान्तै आर्थिक अबस्था कमजोर भएकाले अनेत्र अस्पतालमा लान पैसा नभएको भन्दै श्रीमान शिवु उनलाई घर फर्काएका थिए ।

दुइ सन्तानकी आमा विमला बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको स्थानीयले बताएका छन ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको थिए ।

सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलाहरुलाई अस्पतालले फिर्ता नपठाउने गरेको बताउनुभयो ।

प्रसूतिका लागि ल्याइएका महिलालाई तत्काल उपचार थाल्नु पर्नेमा फिर्ता पठाउनु गम्भीर लापरबाही भएकले यदी त्यस्तो हो भने आवश्य छानबिन गरेर कारबाही गर्ने बताउनुभयो ।

दासले गर्भवती र प्रसूति गराउन ल्याइएका महिलाको उपचारमा कुनै पनि कमजोर हुन नदिने अस्पतालको नीति रहेकोपनि जानकारी दिनुभयो ।

यसअघि विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षीय डिगबहादुर राईलाई पनि विराटनगरबाट बुधबार हेलिकोप्टर चार्टर गरेर घर फर्कनुपरेको थियो ।

त्यसै गरी यसअघि मोरङको कानेपोखरी गाँउपालिकाकी सात महिनाकी गर्भवती २३ वर्षीया सविना थापा, पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राई, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, लगायतको मृत्यु विराटनगरका अस्पतालहरुले उपचार गर्न नमान्दा भइसकेको छ ।

सम्बन्धित खवर