मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काद्वारा मुद्दा फाँटमा फेरबदल

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काद्वारा मुद्दा फाँटमा फेरबदल

 

विराटनगर : मोरङका प्रहरी युनिटहरुको अपराध अनुसन्धान शाखा (मुद्दा फाँट) मा व्यापक फेरबदल गरिएको छ । आर्थिक चलखेल गर्दै आपराधिक घटनाका अभियुक्तसँग साँठगाँठ बढाएको आशंकामा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले मुद्दा फाँटमा फेरबदल गर्नुभएको हो ।

मुद्दा शाखाबाट आपराधिक घटनामा जोडिएका अभियुक्तसँग ‘सेटिङ’ मिलाएर पैसाको लेनदेन हुने गरेको विशेष सूचनाका आधारमा एसपी खड्का ‘एक्सन’मा उत्रिनु भएको हो । लेनदेन विवादमा मुछिएका प्रहरीमाथि कारबाही अघि बढाउन उहाँले छानबिन शुरु गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयसहित मोरङका इलाका प्रहरी कार्यालयहरु रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारीसमेत आठवटा युनिटबाट अपराध अनुसन्धानको काम हुँदै आएको छ । विवादमा मुछिएपछि एसपी खड्काले लामो समयदेखि विभिन्न युनिटको मुद्दा शाखामा कार्यरत रहेका प्रहरी नायव निरीक्षक ९सइ० र हवल्दार गरेर १२ जनालाई फेरबदल गर्नुभएको हो ।

जिल्ला प्रहरीबाट सइ गोविन्द खवासलाई रंगेली, बेलबारीबाट रमेश प्रधानलाई सिजुवा, पथरीबाट सोम लामिछानेलाई रानी, उर्लाबारीबाट बालकुमार कटुवाललाई लेटाङ, रंगेलीबाट उज्वल खड्गीलाई जिल्ला प्रहरी, सिजुवाबाट मोति कटुवाललाई पथरी, सिजुवाबाटै कृष्ण प्याकुरेललाई बेलबारी र लेटाङबाट दुर्गाबहादुर भट्टराईलाई उर्लाबारी लगिएको छ । त्यस्तै मुद्दामै कार्यरत हवल्दार वीरबहादुर विकलाई जिल्ला प्रहरीबाट बेलबारी, काजीमान साउदेनलाई रानीबाट पथरी, भुवनराज खतिवडालाई बेलबारीबाट जिल्ला प्रहरी र राजु श्रेष्ठलाई पथरीबाट रानीमा लगिएको छ ।

अनुसन्धान फितलो ढंगले गरिदिएर मुद्दालाई कमजोर बनाइदिनेभन्दै आपराधिकदेखि विभिन्न घटनाका अभियुक्तसँग मुद्दा शाखामा कार्यरत रहेकाले ‘सेटिङ’ मिलाएर ‘बार्गेनिङ’ गर्दै पैसाको लेनदेन गरिरहेको गुनासो एसपी खड्कासम्म आएको थियो ।

सम्बन्धित खवर