प्रदेश १ मा खुकुलो बन्दैछ निषेधाज्ञा, विस्तारै बजार खुल्न थाले

प्रदेश १ मा खुकुलो बन्दैछ निषेधाज्ञा, विस्तारै बजार खुल्न थाले
विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो ।

अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।”
लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मेयर दिलिप राई भन्छन्,“लकडाउनले मात्रै सबै समस्या समाधान नहुने देखेरै फिर्ता गर्ने निर्णयमा पुगेका हौं ।” पथरीमा पछिल्लो समय संक्रमण दर घटेको छ ।

जिल्ला प्रशासन कार्यालयले खुकुलो गर्दै निषेधाज्ञा थप गरेको छ । तर, बजार साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा बजार सहज रुपमा खुलेको छ । लगातारको निषेधाज्ञाले बजार र व्यापार नै चौपटक भएको भन्दै व्यवसायिक क्षेत्रलेसमेत निषेधाज्ञालाई केही खुकुलोगर्न आग्रह गर्दै आएको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कोरोना समस्या समाधान गर्ने उपाय लकडाउन र निषेधाज्ञा मात्र नभएको आफूहरुको ठहर भएको सुनाउँछन । भने,“हामीले त बारम्बार सरकारलाई यसको विकल्प खोज्न आग्रह गरिरहेका थियौं । पछिल्लो समय केही प्रावधानहरु खुकुलो गरिएको छ । यो सकारात्मक हो ।” उनले लकडाउन र निषेधाज्ञाका कारण उद्योगधन्दा र व्यापार चौपट भएको बताए ।

मोरङ प्रशासनले सार्वजनिक यातायातका सेवा संचालन गर्न नपाइने तर सिटी रिक्समामा दुई जनासम्म यात्रु राखेर संचालन गर्न दिने निर्णय गरेको छ । निजी सवारी सधान पनि जोरबिजोर प्रणालीमा संचालन भईरहेका छन । विराटनगरमा स्वास्थ्य सावधानी अपनाएर पसल, व्यपार र व्यवसाय संचालन गर्न दिइएको बताउँदै मेयर भीम पराजुली भन्छन्,“मास्क अनिवार्य लगाउने, ज्वरो नाप्ने, हात धुने प्रबन्ध गर्ने अथवा सेनिटाइजरको व्यवस्था हुने पर्ने नियम भने पालना गर्नैपर्छ ।” विराटनगरमा संक्रमणको आँकडा एक हजारभन्दा धेरै भइसकेको छ । १५ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान र इटहरीमा समेत लकडाउन केही खुकुलो गरिएको छ । बजार पसल संचालन भएका छन । मानिसहरुलाई भिंडभांड नगर्न र अति आवश्यक परेमात्र घर बाहिर जान उपमहानगरहरुले सूचित गरेका छन । धरानका मेयर तिलक राई स्वास्थ्यका नियम पालना गर्न नगरवासीलाई आग्रह गरिएको र परीक्षणमा समेत ध्यान दिइएको बताउँछन ।

सम्बन्धित खवर