घरभित्र पसेको भन्दै १२ वर्षीया बालिकालाई कुटपिट

घरभित्र पसेको भन्दै १२ वर्षीया बालिकालाई कुटपिट

 

उर्लाबारी । मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन ।

फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ ।

सोमबार उनी चिसो पानी लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी थिइन् । तुलसा नन्दलालकी बुहारी हुन् । उनीहरू अलग–अलग घरमा बस्छन् । ‘नानी (फुलसरी) सधैँ त्यो घरमा जाने र पस्ने गरेकी थिई । सोमबार फ्रिजमा राखेको पानी लिन पठाएँ । घरमा सानो नानी मात्र रहेछ । ऊसँगै फुलसरी पनि भित्र गइछ,’ दुर्गाले भनिन्, ‘श्राद्ध छ, हामीले खाना चढाएको छैन भन्दै नीलडाम हुनेगरि कुटपिट गरे । त्यो घरमा त श्राद्ध पनि थिएन, नन्दलालको घरमा पो श्राद्ध थियो ।’ फुलसरीलाई छुटाएर ल्याउँदा आफूमाथि पनि कुटपिट गरेको उनले बताइन् ।

जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । तर, प्रहरीले उजुरी दर्ता गरेको छैन । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष राईले अर्को पक्षलाई पनि बुझेर दर्ता गरिने बताए ।

सम्बन्धित खवर