पोखरा : पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन् । लेखा शाखा प्रमुख वामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
सुवेदीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । हिमालयन आँखा अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि शोषण भएको भन्दै यसअघि अस्पताल प्रशासनमा उजुरी दिएकी थिइन् । उजुरी दिएपछि तत्काल अस्पताल प्रशासनले सुवेदीलाई निलम्बनसमेत गरेको थियो ।
स्रोतका अनुसार, अस्पतालमा उजुरी परेपछि शुक्रबार राती नै निलम्बन गरी सहमति जुटाउने प्रयास गरिएको थियो । घटना बाहिर आएको एक सातासम्म पनि पीडितले प्रहरीको उजुरी गरेकी थिइनन् । अन्दाजी ३८ वर्षिया ती महिलालाई लेखा प्रमुख सुवेदीले करीब ४ वर्षदेखि यौन शोषण गर्दै आइरहेको स्रोतको दाबी छ । अस्पताल प्रशासन तथा व्यवस्थापन समितिसँग आफु नजिक भन्दै घटना बाहिर ल्याए जागिर खाइदिने धम्की दिदैँ यौन शोषण गर्ने गरेको श्रोतको भनाई छ ।
बारम्बार हुँदै आएको शोषण नरोकिएपछि महिला बाध्य भएर अस्पताल प्रशासनलाई उजुरी दिएकी थिइन् । सुवेदीले धम्की दिदैँ अन्य कर्मचारीहरुलाई पनि शारीरिक शोषण तथा दुराचार गर्ने गरेको उनको भनाई छ । प्रहरीलाई भने दुई महिला कर्मचारीले उजुरी दिएको स्रोतले बतायो ।
सुवेदीलाई जर्बजस्ती करणी आरोपमा सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ‘हामी अहिले अनुसन्धानको प्रक्रियमा छौ, घटना के हो ? अनुसन्धान भइरहेको छ’ प्रवक्ता हमालले भने ।