प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण

प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण

 

विराटनगर : मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमा कोरोना संक्रमण देखिएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जवरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएकासुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।प्रहरीले पक्राउ गरेर भदौ २० गते शनिबार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरेर पठाएको थियो । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सोमबारसाँझ प्राप्त भएको जानकारी राईले दिए । उनका अनुसार कोरोना देखिएपछि ती थुनुवाको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरेर प्रहरी निगरानीमा उपचार थालिएको छ । मोरङ प्रहरीको हिरासतमा मंगलबार बिहानसम्ममा २६ जना थुनुवा रहेकोमा अरु २५ जनाको रिपोर्ट नेगेटिभ आएको डीएसपी राईले बताए ।

कुनै पनि घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राख्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदै थुनुवामा कोरोना भए/नभएको प्रहरीले यकिन गर्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बलात्कारको आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएका थुनुवामा कोरोना देखिएपछि अरु थुनुवालाई संक्रमण नफैलिओस भनेर हिरासतमा उच्च सर्तकता अपनाइएको जानकारी दिए ।

सम्बन्धित खवर