मजदुर अभावका कारण इँटा उत्पादनमा कमी

मजदुर अभावका कारण इँटा उत्पादनमा कमी

 

विराटनगर । प्रदेश १ का ८५ इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसक्ने भएका छन् ।

भारतको पश्चिम बंगालको कुचविहारबाट असोजमा आउने २२ हजार मजदूर यो वर्ष कोरोना संक्रमणका कारण आउन नसक्ने भएपछि इँटा उद्योग सञ्चालन गर्न नसक्ने अवस्था देखिएको इँटा व्यवसायी संघले जानकारी दिएको हो । संघका अनुसार प्रदेश १ मा वार्षिक रूपमा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको इँटा उत्पादन हुँदै आएको छ ।

संघले संघीय उद्योगमन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापन बुझाए पनि भारतबाट सहज रूपमा मजदूर आउने निश्चित नभएपछि उद्योग सञ्चालन हुने अवस्था नदेखिएको हो ।
यस क्षेत्रका इँटा उद्योगले वर्षको एक सिजन हिउँदमा इँटा बनाउने र विक्री गर्दै आएका छन् । इँटा उद्योगमा काम गर्ने ९० प्रतिशत कामदार भारत पश्चिम बंगाल कुचविहार जिल्लाका हुन् ।

इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू परिवारसहित नेपाल आएर इँटा उद्योगभित्रै अस्थायी रूपमा बसेर काम गर्छन् । पहिले नै पारिश्रमिक बुझेपछि मात्र उनीहरू हिउँदभर काम गरेर वैशाखसम्म आफ्नो घर फर्कने गर्छन् । हिउँद शुरू हुनुअघि भदौ अन्तिमदेखि असोजभित्र उनीहरू उद्योगमा आएर काम शुरू गरिसक्थे ।

तर, कोरोना महामारीका कारण सीमानाका बन्द भएपछि यो वर्ष उनीहरू आउने सम्भावना नरहेको एबीआई इँटा उद्योग सञ्चालक तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उद्योग संगठनका तर्फबाट इँटा उद्योगमा काम गर्ने भारतीय मजदूरलाई ल्याउन र नेपाल आएपछि उद्योगले विश्व स्वास्थ्य संगठनले तयार पारेको स्वास्थ्य सतर्कता अपनाएर उद्योग सञ्चालनको वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाइए पनि सुनुवाइ हुन नसकेको इँटा उद्यमीहरूको गुनासो छ ।

सिजनकै बेला इँटा उद्योग सञ्चालन हुन नसके प्रदेश १ मा इँटा अभाव भई त्यसले विकास निर्माण प्रभावित हुनेछ । प्रदेश १ का उद्योगले उत्पादन गर्ने इँटाको मूल्य ७ देखि १८ रुपैयाँ प्रतिगोटासम्म पर्छ । प्रदेश १ मा सञ्चालित इँटा उद्योगहरूले वार्षिक न्यूनतम ३४ करोड इँटा उत्पादन गर्दै आएका छन् । प्रदेश १ का इँटाभट्टाले सरकारलाई वार्षिक करबापत ३५ करोड राजस्व बुझाउँदै आएका छन् ।

उद्योग सञ्चालनमा नआए सरकारी राजस्वसमेत गुम्नेछ । इँटा उद्योग तथा व्यवसायी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्र श्रेष्ठ इँटाभट्टा उद्योगको काम सकिएपछि मजदूर पठाउन निकै सास्ती खेप्नु परेको सुनाउँछन् । (आर्थिक अभियान)

सम्बन्धित खवर