लेखनाथ उद्योग बाणिज्य संघको साधारणसभा फरक मोडलमा

लेखनाथ उद्योग बाणिज्य संघको साधारणसभा फरक मोडलमा

लेखनाथ : कोरोना भाइरस कारण विभिन्न संघसंस्थाले गर्नु पर्ने साधारण सभा तथा अधिवेशन रोकिराखेको अवस्थामा लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्न सकिने योजना बनाएको छ ।

साधारण सभा गर्नु पनि पर्ने, भीडभाड गराउन पनि नमिल्ने विषम परिस्थितिमा फरक शैलीबाट संघसंस्थाका गतिविधि अगाडि बढाउनु पर्ने आवश्यकता मध्यनजर राख्दै नयाँ मोडलको साधारण सभा गर्न सकिने प्रस्ताव अगाडि सारिएको हो ।

संघको गत वर्ष सम्पन्न १२ औं अधिवेशनवाट निर्वाचित टिमले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा शनिवार बसेको कार्यसमिति बैठकमा एक वर्षे कार्यकालको आत्मसमीक्षा सहित आगामी दिनका कार्ययोजना तथा भावी कार्यक्रम तयार गरेको हो ।

२०५४ सालमा स्थापना भएको संघमा आवद्ध १ हजार ३ सय ६५ ब्यवसायी सदस्यहरुको हितमा सामूहिक नेतृत्व प्रणालीद्वारा काम गर्दै ब्यक्तिप्रधान नभई नीतिप्रधान हुने भावनाले नयाँ मोडलको वार्षिक साधारण सभाको कार्ययोजना बैठकबाट अगाडि सारेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

कार्ययोजनाअन्तर्गत वार्षिक प्रतिवेदन तयार गरी असोज ५ भित्र सम्पूर्ण ब्यवसायीको हातमा पुर्‍याइसक्ने र सोही प्रतिवेदनका आधारमा ब्यवसायीहरुबाट असोज १५ सम्म वैज्ञानिक विधिबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ सम्ममा सुझावमा सहभागी सदस्य विभिन्न विधिबाट अन्तक्र्रिया छलफलबाट आएका राय सुझाव समावेश गरी २४ औं साधारण सभा पारित भएको मानिनेछ भन्नेखालको योजना बनाइएको हो ।

संघले साधारण सभा र लकडाउनका कारण सृजित समस्याको सही निकासका बारेमा सल्लाहकार, विभिन्न उपसमिति, पदाधिकारी र कार्यसमितिको बैठक बसी समस्याको खोजी गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

सम्बन्धित खवर