हत्या गरिएको अवस्थामा दाजुबहिनीको शव फेला

हत्या गरिएको अवस्थामा दाजुबहिनीको शव फेला

खोटाङमा हत्या गरी फालिएको अवस्थामा दाजुबहिनीको शव फेला परेको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीय बहिनी गोपीमाया श्रेष्ठको शव विभत्स अवस्थामा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।

घटनाको प्रकृति हेर्दा तीन÷चार दिन अघि हत्या भएको जस्तो देखिएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक चिमरियाले बताए । ‘ १७ भदौ दिउँसो साढे ४ बजेसम्म काम गरिरहेको आफन्तले देखेका रहेछन्’ उनले भने ‘ अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।’

घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोष टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए ।

‘अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत हुन । उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्’, उनले भने ‘ उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका हुन । सम्पत्तिको लोभमा हत्या भएको हुनसक्छ ।”

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । रासस

सम्बन्धित खवर