क्षतिको पुननिर्माण वर्षा सकिएपछि : गृहमन्त्री थापा

क्षतिको पुननिर्माण वर्षा सकिएपछि : गृहमन्त्री थापा

बागलुङ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेमा मन्त्री थापाले पीडितहरुलाई भेटेर सरकार साथमा रहेको बताए ।

बाढीपहिरोका कारण आफन्त गुमाएका र घरबारविहिन भएकाहरुलाई सरकारको तर्फबाट हुने सबै सहयोग गरिने भन्दै थापाले जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरे । उनले बाढीपहिरोका कारण घरबार गुमाएका र परिवार गुमाएकाहरुको तत्कालको व्यवस्थापनमा जुट्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएका छन् ।

उनले सबै संरचनाको निर्माणका लागि भौतिक मन्त्रीलाई यहाँको अवस्थाको विषयमा जानकारी गराउने र सोहीअनुसार पुननिर्माणको काम अघि बढाईने बताए । दैविक प्रकोपका कारण देशले ठुलो धनजनको क्षति व्यहोर्नुपरेको भन्दै उनले सम्भावित जोखिमको आँकलन गरेर सतर्क रहनुपर्नेमा जोड दिए ।

पहिरो प्रभावित क्षेत्रमा पुगेका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले तीनै तहका सरकारको सहयोगमा ढोरपाटनका बाढी पीडितलाई राहत महशुस गराईने बताए ।

बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । मौसम खराबीका कारण बिहीबार पोखराबाट फर्किएका गृहमन्त्री थापा शुक्रबार पुन ः राहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन् । उनले तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

बुधबार राती बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । बाढीपहिरोका कारण १४ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता छन् । मन्त्रीको टोली ढोरपाटनमा केही घण्टा बिताएर काठमाण्डौ फर्किएको छ ।

सम्बन्धित खवर