इलामका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना

इलामका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना

इलाम : नेपाल–भारत सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि इलामका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

पशुपतिनगरमा रहेको एउटा पोष्टले इलामको साढे ५२ किलोमिटर क्षेत्रको सीमा निगरानी गर्दै आएकामो सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ सलकपुरमा बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले दुबै स्थानका बीओपी उद्घाटन गर्नुभएको छ । सीमा क्षेत्रमा स्थापना भएका बीओपीले सीमानाको रक्षा र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

भारतबाट हुने सीमा अतिक्रमण, सीमाक्षेत्रमा हुने गतिविधि लगायतको नियन्त्रणका लागि स्थानीयले सुरक्षाको माग गर्दै आएका थिए । रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना गर्नका लागि स्थानीय लाखमान गम्देनले निःशुल्क ५ रोपनी जग्गा उपलब्ध गराएको सशस्त्रले जनाएको छ ।

समालबुङमा स्थापना गरिएको बीओपीको लागि स्थानीय तारादेबी खत्री, मनोजकुमार खत्री, बिष्णु कुमार खत्री, टेकबहादुर खत्री, गंगा खत्री, धनकुमार खत्री र कुलबहादुर खत्रीले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। जग्गामा तत्काल भवन निर्माणको प्रक्रिया थालिने सशस्त्रले जनाएको छ ।

इलामको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा थप चार वटा बीओपी स्थापना गर्ने सशस्त्रको तयारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सशस्त्रको उपस्थिती बढेपछि स्थानीय नागरिकले सुरक्षाको अनुभूति गरेको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बताउनुभयो ।

चालु आर्थिक बर्ष भित्रका प्रदेश १ को नेपाल भारत सीमा क्षेत्रका मा २२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने तयारी छ ।

सम्बन्धित खवर