कक्षा १२ को परीक्षा होम सेन्टरमा गर्ने तयारी

कक्षा १२ को परीक्षा होम सेन्टरमा गर्ने तयारी

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा विद्यालयमै होमसेन्टर कायम गरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। पाँच महिनाअघि कोरोना महामारीको जोखिमका कारण स्थगित १२ को परीक्षा सञ्चालनबारे बोर्डले सरोकारवालासँग पटकपटक छलफल गरी परीक्षा सञ्चालनका विभिन्न विकल्पबारे सुझाव संकलनसमेत गरेको छ। ‘बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले माध्यमिक तह कक्षा १२ का मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरू परीक्षार्थी रहेकाले अनलाइन परीक्षा सञ्चालन गर्न सम्भव नभएको बताउँदै बोर्डले होमसेन्टर, उपकेन्द्र तथा ओपन बुक परीक्षा प्रणालीका मोडलहरूसहितको उपयुक्त प्रस्ताव अघि सारेको बताए।

‘सरोकारवालसँग छलफल हुँदा नेपालको भौगोलिक अवस्थाका कारण अनलाइन सबैको पहुँचमा नहुने भएकाले यो माध्यमबाट परीक्षा गर्न नसकिने सुझाव आयो,’ अध्यक्ष पौडेलले भने, ‘चार हजार बढी कक्षा ११ र १२ पढाउने विद्यालय छन्। ४ लाख ३२ हजार विद्यार्थीका लागि होमसेन्टरबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त देखिएको छ।’ उनले थपे, ‘यसै साता परीक्षा सञ्चालनबारे मोडलहरूको सुझावसहित प्रतिवेदन बोर्डले शिक्षा मन्त्रालयमा बुझाउने तय भएको छ।’ यसका साथै उनले बोर्डले परीक्षाका नयाँ प्रणालीबारे समेत छलफल गरिरहेको बताए।

उनले २०७२ सालमा महाभूकम्पको समयमा चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिए जस्तै कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्ने प्रस्ताव तयार भइरहेको जनाए। ‘जुन जिल्लामा कोरोनाको जोखिम छैन, ती जिल्लामा भने हाललाई परीक्षा सञ्चालन गर्ने र जोखिम बढी भएका ठाउँमा स्थिति सामान्य भएपछि मात्र गर्ने गरी दुई चरणमा परीक्षा सञ्चालन गर्ने बोर्डले प्रस्ताव गर्ने छ,’ उनले भने, ‘ढिलोमा मंसिरसम्म परीक्षा सक्ने बोर्डको तयारी भइरहेको छ।’ कक्षा ११ को परीक्षाको सम्पूर्ण अधिकार यसअघि नै विद्यालयलाई दिइएको छ।

‘कक्षा ९ जस्तै कक्षा ११को परीक्षा विद्यालयले परिस्थिति सहज भएपछि लिने छ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को परीक्षापछि विश्वविद्यालय प्रवेश हुने भएकाले भौतिक उपस्थितिकै आधारमा सञ्चालन हुन्छ।’ बोर्डका सदस्य सचिव दुर्गा अर्यालले पाँच महिनाअघि नै परीक्षा सञ्चालनका सबै तयारी गरिसकेकाले अब परिस्थिति सामान्य हुने पर्खाइमा बोर्ड रहेको बताए। उनले परीक्षाका धेरै विकल्प सरोकारवाला र विज्ञहरूले दिएका र त्यसमध्ये पनि उपयुक्त विकल्पमा बोर्डका सदस्यले बैठक बसी निर्णय गर्ने जनाए। ‘परीक्षा संञ्चालनका लागि प्रश्नपत्र छपाएर सुरक्षित राखिएको छ ।’

सदस्य सचिव अर्यालले भने, ‘होमसेन्टर तथा विद्यार्थीको घरपायक पर्ने उपकेन्द्रसमेत थपेर परीक्षा सञ्चालन गर्नेतर्फ बोर्ड तयारीमा छ।’ उनले थपे, ‘हाल एक हजार एक सय परीक्षा केन्द्र कायम छन्। उपकेन्द्र थपिँदा दुई हजार दुई सयसम्म पुग्न सक्छ। बोर्डले परीक्षाको मोडेलबारे दिएको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्बाट पास गराउनुपर्छ।’ नागरिकबाट

सम्बन्धित खवर