चर्चित ढोलकवादक फूपा ७ महिनादेखि ओछ्यानमै

चर्चित ढोलकवादक फूपा ७ महिनादेखि ओछ्यानमै

मोरङ : डेढ दशकदेखि भक्ति संगीतमा समर्पित चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ यतिबेला उपचारको अभावमा थला परेका छन् ।

थलिएका कलाकार फूपा

मोरङ बेलबारी ७ निवासी ५५ वर्षिय राजवंशी लिभरको क्यान्सर रोगले थलिएका हुन् । खर्च नभएर चर्चित ढोलकवादक र नालवादक राजवंशीले उपचार गर्न सकिरहेका छैनन् । करिव ७ महिनाअघि पेटको समस्या लिएर उनी विराट नर्सिङ होम विराटनगर गएका थिए । त्यहाँका चिकित्सकले भरतपुर वा बिर्तामोड जान सल्लाह दिए । त्यसपछि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई लिभर क्यान्सर भएको चिकित्सकले बताए । पहिलो स्टेजको क्यान्सर पुष्टि भएको र औषधि सेवनले निको हुने चिकित्सकले बताएको राघव बताउँछन् । तर, उनीसँग औषधि किन्ने खर्च छैन । राघव न्यून आर्थिक अबस्थाका छन् । दुई कठ्ठा जग्गामा फुसको छाप्रो बनाएर बसेका राघवले ढोलक बजाएरै आफ्नो ८ जना परिवारको गुजारा गर्दै आएका थिए । भक्ति संगीतमा वाद्यवादन गर्न राघव देशका विभिन्न ठाउँसँगै भारतको दार्जिलिङ, आसाम , सिक्किमसम्म पुग्ने गर्थे । विक्रमश्री वाँस्तोला , कुवेर सुवेदी , उदय दाहाल , दुर्गा ओली , भुपु पाण्डे , राजु अधिकारी , तुलसा तिम्सिना , प्रेमसागर निरौला , महेश खतिवडा , तारा घिमिरे , सुमन खनालजस्ता पण्डितहरुसँग धार्मिक कार्यक्रममा उनी प्रमुख कलाकारको रुपमा सरिक हुने गर्थे । धार्मिक अनुष्ठानमा लैजानका लागि राघवलाई २–३ महिना अगाडि नै बुकिङ गर्नु पथ्र्यो । तिनै चर्चित कलाकार यतिबेला खर्च नभएर ओछ्यान परेका छन् । ‘ घर बनाउनका लागि ४–५ लाख रुपैयाँ राखेको थिएँ’ उनले भने. , ‘ त्यो रकम उपचारमै खर्च भइसक्यो , अब आउने बाटो छैन ।’ आफूलाई महिनाको ४० हजारजति औषधिमा खर्च लाग्ने गरेको पीडित राघवले बताए । राघवको परिवारमा श्रीमती , एक छोरा , ४ छोरी र २ नातिनातिनी रहेका छन् ।

स्वस्थ हुँदाका फूपा

छोरा मिस्त्री काम गर्ने गरेको आमा बांग्री राजवंशीले बताइन् । आफूहरुको आर्थिक अबस्था एकदमै कमजोर भएकाले उपचारमा समस्या भएको बताउँदै उनले श्रीमानको ज्यान बचाइदिन सबैसँग अपिल गरेकी छन् । क्यान्सरपीडित राघवले पनि आफू निको भएर पुनः भक्ति संगीतमा फर्किन खोजेको बताउँदै चारआना आठआना जुटाएर भएपनि ज्यान बचाइदिन आग्रह गरेका छन् । भक्ति संगीतमा डोर्याउने पण्डित बिक्रमश्री वाँस्तोलाले महायज्ञमा सहभागी भई धेरै स्कूल , अस्पताल निर्माण गर्न योगदान दिएका कलाकार राघवलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने कोही नभएको बताए । उनले राघवको उपचारका लागि एउटा सहयोग संकलन समिति गठन गरी सहयोग जुटाउने अभियानलाई शुरुवात गर्न लागेको जानकारी दिए ।

सम्बन्धित खवर